टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव मनाइँदै, नेपालका बाढीपीडितका लागि विशेष प्रार्थना गरिने

टेक्सास (अमेरिका): डीएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज टेक्सासको आयोजनामा शनिबार (सेप्टेम्बर ५) मा ‘श्रीकृष्ण प्राकट्य महोत्सव २०२६’ मनाइने भएको छ । यस वर्षको महोत्सव भक्ति र सांस्कृतिक उल्लासका साथै नेपालमा हालै आएको विनाशकारी बाढी, पहिरो र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूप्रति समर्पित रहने आयोजक समितिले जनाएको छ ।
नेपालमा भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्दै समाजले दिवङ्गत आत्माहरूको शान्ति, बेपत्ताहरूको सकुशल उद्धार, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित परिवारहरूमा धैर्यधारण गर्ने शक्तिका लागि भगवान् श्रीकृष्णसँग सामूहिक प्रार्थना गर्ने कार्यक्रम तय गरेको छ ।
कार्यक्रम डीएफडब्ल्यू श्रीकृष्ण प्रणामी मन्दिरमा साँझ ४ बजेदेखि राति १ बजेसम्म हुनेछ । कार्यक्रममा विशेष पूजा, अभिषेक, मध्यराति श्रीकृष्ण प्राकट्य महाआरती नेपालका बाढी-पहिरो पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, सुरक्षा, उद्धार र शीघ्र पुनर्स्थापनाका लागि विशेष प्रार्थना गरिनेछ ।







