बारामा एक सय ५१ किलो लागूऔषध गाँजा बरामद


eShilalekh

२१ भाद्र २०८३, आईतवार १२:३४

सिमराः बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले पचरौता नगरपालिका ७ स्थित बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा एम्बुस थापेर निगरानी गर्ने क्रममा एक सय ५१ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

शनिबार राति करिब १०:३० बजे प्रहरी चौकी श्रीनगर बैरियाबाट असई राजेश सिंह र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीबाट सई श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले धानखेतको आलीको बाटो हुँदै ८–९ जना अपरिचित व्यक्ति पिठ्युँमा केही बोकेर आउँदै गरेको देखेको थियो ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन लखेटेपछि ती व्यक्तिहरूले पिठ्युँमा बोकेर ल्याएको गाँजाका पोका धानखेतमै फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

प्रहरीले बरामद गरेका ९ वटा गाँजाका पोका तौल गर्दा जुटको बोरासहित प्रत्येक पोका करिब १६.७७ किलो रहेको छ । बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ पठाईएको छ ।

फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्