पर्सामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगञ्जः पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका ४ तुलसी वर्वाका ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन् ।
अदालतबाट १० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका साहलाई इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो करिब १ बजे उनकै घरबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नामथर तथा वतन परिवर्तित २०७७/०७८ (प्र.) को जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी साह तेली रहेको जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो ।
पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







