जीतपुरसिमराका तीन अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर र इलेक्ट्रिक ट्राइसाइकल वितरण

सिमराः प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीको सहयोगमा आइतबार जीतपुरसिमरा उपमहानगरपालिकाका तीन जना अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर इलेक्ट्रिक ट्राइसाइकल तथा ह्विलचेयर वितरण गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका-१ का ६९ वर्षीय दिलबहादुर बस्नेतलाई इलेक्ट्रिक ट्राइसाइकल प्रदान गरिएको हो । जन्मजात देब्रे खुट्टा नभएका बस्नेतलाई उमेर ढल्किँदै जाँदा हातले चलाउने साधारण ह्विलचेयर गुडाउन निकै सास्ती भइरहेको थियो । श्रीमती ठगकुमारीको सहारामा आवतजावत गर्दै आएका उनले इलेक्ट्रिक ट्राइसाइकल पाएपछि अनुहारमा नयाँ मुस्कान छाएको छ । अब यही ट्राइसाइकलको मद्दतले सानो-तिनो व्यवसाय सुरु गरेर आफ्नै खुट्टामा उभिने र गुजारा चलाउने अठोट उनले व्यक्त गरेका छन् ।
यसैगरी आठ वर्षको उमेरमा बिरामी परेपछि शरीरका हातखुट्टा नचल्ने भई पूर्णरूपमा अशक्त बनेकी जीतपुरसिमरा-१ पथलैयाकी ३६ वर्षीया शान्तिकुमारी प्रसाईंलाई पनि ह्विलचेयर प्रदान गरिएको छ । पहिलो पटक ह्विलचेयर पाएपछि शान्तिकुमारी खुसी देखिएकी छिन् भने उनका दाइ रामहरि प्रसाईंले अब बहिनीलाई आवतजावत गराउन निकै सहज हुने प्रतिक्रिया दिएका छन् ।
यता जीतपुरसिमरा–१९ का २० वर्षीय जन्मजात पूर्ण अपाङ्गता भएका जमिर अन्सारीले पनि पहिलो पटक ह्विलचेयर प्राप्त गरेका छन् । फतेह आलम अन्सारीका कान्छा छोरा जमिरलाई ह्विलचेयरमा बसाउन पाउँदा परिवारका साथै गाउँलेहरूसमेत खुसी भएका छन् ।
स्थानीय शिव पौडेल, रमेश थापा, राजदास श्रेष्ठ तथा नेपाल अपाङ्ग सेवा संघ बाराका पूर्वअध्यक्ष गंगाप्रसाद वाग्लेले प्रत्यक्ष रूपमा घरमै पुगेर ती सामग्री हस्तान्तरण गरेका थिए । अध्यक्ष वाग्लेले प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले अत्यन्तै मानवीय कार्य गरेको भन्दै गुठीको सराहना गरे ।
समाजसेवामा सक्रिय गुठीकी संस्थापक राजी राणाले यसअघि आफ्नो ८८औं जन्मोत्सवको अवसरमा पनि जीतपुरसिमरा र कलैयाका ६ जनालाई ट्राइसाइकल र दुई जनालाई ह्विलचेयर वितरण गरेकी थिइन् । उनले हालै रसुवाका बाढी प्रभावितहरूका लागि १ करोड ९ लाख रुपैयाँ नगद र २५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग समेत गरेकी थिइन् ।







