फुटपाथमै बच्चा जन्माउन विवश महिलाको घटना संसद्मा

सिमराः राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि एक महिलाले सडकको फुटपाथमै बच्चा जन्माएको घटना संसद्मा उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले संसद्को बैठकमा यो गम्भीर घटनाबारे कुरा उठाउँदै सरकारसँग जवाफ मागेका हुन् ।
राजविराज नगरपालिका १४ की एक महिलाले सुत्केरी व्यथा लागेपछि अस्पताल गएकी थिइन् । तर उपचारका लागि आवश्यक रकम अभाव भएपछि अस्पतालले उनलाई भर्ना लिन अस्वीकार गरेको थियो ।
पीडित महिलासँग जम्मा दुई हजार पाँच सय रुपैयाँ मात्र रहेको कारण अस्पतालले भर्ना गर्न नमानेको र त्यसैका कारण उनले अस्पताल बाहिरको फुटपाथमै बच्चा जन्माउन बाध्य हुनुपरेको सांसद कर्णले संसद्लाई जानकारी गराएका छन् ।







