एमाले निजगढद्धारा धुन्चे अस्पताल र रसुवाका बाढी प्रभावितका लागि ग्यास सिलिण्डर र चुलो सहयोग

सिमराः नेकपा एमाले निजगढले रसुवा बाढी प्रभावित र धुन्चे अस्पतालका लागि ग्यास सिलिण्डर र चुलो सहयोग गरेको छ । एमाले निजगढ नगर कमिटी र निजगढ नगरपालिका वडा नं. १० को पहलमा सञ्चालित अभियानमार्फत संकलित रकमबाट उक्त सहयोग गरिएको हो ।
संकलित आर्थिक सहयोगबाट बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित भएका विपन्न परिवारहरूका लागि २० थान ग्यास सिलिन्डर र २० थान ग्यास चुलो प्रदान गरिएको छ । यसैगरी बिरामीको सेवामा सहजता पुगोस् भन्ने उद्देश्यले धुन्चे अस्पतालका लागि थप पाँच थान ग्यास सिलिन्डर र पाँच थान ग्यास चुलो हस्तान्तरण गरिएको छ ।
उक्त राहत सामग्री उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल र उपाध्यक्ष चमेली गुरुङको उपस्थितिमा हस्तान्तरण गरिएको एमाले निजगढ नगर कमिटीका अध्यक्ष तिलक घलानले जानकारी दिए ।







