महोत्तरीमा २५ वर्षीय युवकको बीभत्स हत्या: टुक्राटुक्रा पारेको शव सेफ्टी ट्यांकीमा फेला


eShilalekh

२६ भाद्र २०८३, शुक्रबार २१:३२

सिमराः महोत्तरीमा रक्षाबन्धनको दिनदेखि बेपत्ता भएका एक २५ वर्षीय युवकको बीभत्स हत्या भएको छ । भंगहा नगरपालिका-६ बिर्जौनी टोलका विवेक सरदारको शव टुक्राटुक्रा पारेर एक घरको सेफ्टी ट्यांकीभित्र लुकाइएको अवस्थामा फेला परेको हो ।

बलवा नगरपालिका-७ बनौटा बस्ने अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीमा विवेकको शव बरामद गरिएको प्रहरीले जनाएको छ । घटनालाई लुकाउन शवलाई टुक्राटुक्रा पारेर सेफ्टी ट्यांकीमा फालेपछि माथिबाट सिमेन्ट र बालुवाले पलास्टर गरी बन्द गरेको पाइएको छ ।

रक्षाबन्धनको दिनदेखि विवेक हराएपछि परिवारले उनको खोजीका लागि प्रहरीमा खबर गरेका थिए । अनुसन्धानका क्रममा उनको अन्तिम मोबाइल लोकेसन अशोक ठाकुरको घर वरपर नै देखिएको थियो ।

शंकास्पद गतिविधि र मोबाइल लोकेसनका आधारमा प्रहरीले घरधनी ठाकुरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रहरीसमक्ष ठाकुरले युवकको हत्या गरी शव सेफ्टी ट्यांकीमा लुकाएको स्वीकार गरेपछि मात्रै घटनाको रहस्य खुलेको हो ।

अभियुक्तको बयानका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले सेफ्टी ट्यांकी फुटाएर शव बाहर निकालेको छ । प्रहरीले ठाकुर, उनको बुहारीसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्