जीतपुरमा गणेश चतुर्थी पुजाको तयारी तीव्र, भदौ २९ गते हात्ती र घोडासहित शोभा यात्रा निकालिने

सिमराः बाराको जीतपुरमा यस वर्षको गणेश चतुर्थी पुजाको तयारी तीव्र पारिएको छ । सिद्धी विनायक पुजा समितिको आयोजनामा हुन लागेको गणेश चतुर्थी महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न समितिले तयारी गरिरहेको छ ।
पुजा समितिका अध्यक्ष श्रीराम साहका अनुसार भदौ २९ गते सोमबारका दिन हात्ती, घोडा र बाजागाजासहित भव्य शोभा यात्रा निकालिने छ । भदौ २९ गतेदेखि सुरु हुने धार्मिक कार्यक्रम असोज ४ गतेसम्म चल्नेछ ।
एक हप्तासम्म लगातार सञ्चालन हुने यस महोत्सवमा हरेक दिन विशेष पुजाआजा, भव्य आरती र धार्मिक प्रवचनका कार्यक्रमहरू आयोजना गरिनेछ । यसका साथै भक्तजनहरूको मनोरञ्जन र भक्तिभाव बढाउन प्रत्येक दिन कलाकारहरूको सांगीतिक प्रस्तुतिसमेत रहनेछ ।
यस वर्षको पुजामा प्रसाद वितरणलाई मुख्य आकर्षणको रूपमा लिइएको छ । महोत्सव अवधिभर प्रत्येक दिन ५० किलो लड्डु प्रसादका रूपमा वितरण गरिनेछ भने यस वर्ष विशेष आकर्षणका रूपमा २८० किलोको एउटै विशाल लड्डु बनाएर चढाइने भएको छ ।
करिब सात लाख रुपैयाँको लागतमा सम्पन्न हुन लागेको यस गणेश चतुर्थी पुजाको असोज ४ गते विशेष प्रसाद वितरण गर्दै समापन गरिनेछ ।







