जीतपुरबाट तीन बालबालिका बेखबर, खोजी गर्दै प्रहरी

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियाबाट आइतबार बिहान एकै परिवारका तीन जना बालबालिका सम्पर्कविहिन भएका छन् । भारत स्थायी घर भई हाल बकुलियामा बस्दै आएका मुकेश पासवानका ५, ७ र १० वर्षका तीन जना छोराछोरी बिहान ५ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।
बेखबर हुनेमा पासवानका १० वर्षकी छोरी काजल, सात वर्षकी छोरी सुन्दरी र पाँच वर्षका छोरा धिरज रहेका छन् । उनीहरु बिहानै घरबाट निस्किएदेखि दिउँसो ३ बजेसम्म सम्पर्कमा आएका छैनन् ।
तीन छोराछोरी अचानक बेपत्ता भएपछि परिवारले खोजीका लागि प्रहरीलाई निवेदन दिएको छ । बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले तीनै जना बालबालिकाको खोजी थालिएको बताए ।
प्रहरीले बालबालिकाको खोजीका लागि तस्वीर र हुलियासहित विभिन्न प्रहरी कार्यालयमा खबर गरेको छ । जीतपुरस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोली बालबालिकाको खोजीमा परिचालन गरिएको छ ।







