इभी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो, बारा र पर्साका दुईसहित चार जनाको मृत्यु


eShilalekh

३० भाद्र २०८३, मंगलवार २०:४६

सिमराः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-२ स्थित हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डको सुकौरामा मङ्गलबार दिउँसो भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा ज्यान गुमाउने चारै जनाको पहिचान खुलेको छ । काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको म. प्र. ०३–००१ ज ०७२० नम्बरको गाडी सडकबाट करिब एक हजार मिटर तल खस्दा बारा र पर्साका दुई जनासहित चार यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा बारा परवानिपुर गाउँपालिका–३ का ३२ वर्षीय सरफरोस मियाँ र पर्सा छिपहरमाइ गाउँपालिका–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साहको मृत्यु भएको छ । उनीहरूसँगै धनुषाका ४३ वर्षीय सुरज भट्टराई र नवलपरासी पूर्वका २४ वर्षीय नरबहादुर सिंह ठकुरीको पनि ज्यान गएको छ ।

उनीहरूको साथमा भेटिएका नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका आधारमा पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

दुर्घटनामा बाराका चालकसहित चार जना घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक बाराको कलैया उपमहानगरपालिका–२४ का २० वर्षीय अमिर अन्सारी र यात्रु बारा महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबियाकुमारी यादव रहेकी छिन् । यसैगरी मकवानपुरका राजकुमार स्याङ्तान र कल्पना तामाङ पनि घाइते भएका छन् ।

घाइतेमध्ये चालक अन्सारी, तामाङ र स्याङ्तानको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने यादवको हेटौंडा अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्