सिर्सियामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिमरा: सर्लाहीको कबिलासी नगरपालिका-७ सिर्सियास्थित मलंगवा-नवलपुर सडकखण्डमा मंगलबार साँझ दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
नवलपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका-६ का ३० वर्षीय सुमित यादव र भारतीय नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका-८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरू दुवै जनाको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनामा परी भारतीय मोटरसाइकलमा सवार कबिलासी नगरपालिका-८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलंगवा नगरपालिका-६ का १८ वर्षीय बब्लुकुमार पासवान गम्भीर घाइते भएका छन् । टाउको र खुट्टामा गम्भीर चोट लागेका उनीहरूलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ ।







