‘चाडपर्वमा सुरक्षाको अनुभूति दिलाउँछौं, उच्छृङ्खल गतिविधि नियन्त्रण गर्छौ’ : प्रजिअ अधिकारी


eShilalekh

३१ भाद्र २०८३, बुधबार २१:४८

सिमराः आसन्न चाडपर्वहरूलाई लक्षित गर्दै बारामा ‘हाम्रो सुरक्षा योजना २०८३’ स्वीकृत गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले चाडपर्वका बेला हुनसक्ने सम्भावित समस्याहरूको पहिचान गरी तत्काल समाधान खोज्न यो सुरक्षा योजना अघि सारेको हो ।

गृह मन्त्रालयको निर्णय अनुसार हालै जाजरकोटबाट सरुवा भई भदौ २४ गते बारामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले उक्त योजना स्वीकृत गरेको हो । चाडपर्वको समयमा हुनसक्ने अवाञ्छित क्रियाकलाप, कालोबजारी, चोरी, लुटपाट तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रणका लागि यो योजनाले ठूलो सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

चाडपर्व सुरक्षाबारे बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले भने ‘चाडपर्वका समयमा हुने उच्छृङ्खल गतिविधिलाई तत्काल नियन्त्रण गर्न सकियोस् भन्ने हेतुका साथ सुरक्षा योजना ल्याइएको हो। नागरिकले शान्ति र सुरक्षाको स्पष्ट अनुभूति गर्न पाउनुपर्छ, त्यसका लागि हामी अत्यन्तै गम्भीर भएर काम गरिरहेका छौं । प्रजिअ अधिकारीले खुला सीमानाकाका कारण हुने आपराधिक गतिविधि, लागूऔषधको अवैध कारोबार र चोरी तस्करी रोक्न सीमावर्ती क्षेत्रमा सुरक्षा रणनीति कडा पारिएको जानकारी दिए । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा रहेका मदिरा पसलहरू राति ९ः३० बजेभित्र अनिवार्य बन्द गराउन प्रहरीसँग आवश्यक समन्वय भईरहेको प्रजिअ अधिकारीले बताए ।

सुरक्षाका साथसाथै सर्वसाधारण नागरिकसँग प्रत्यक्ष जोडिने सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई सहज र झन्झटमुक्त बनाउन प्रशासन लागिपरेको प्रजिअको भनाइ छ । जिल्ला प्रशासन कार्यालयभित्र राष्ट्रिय परिचयपत्रका पाँच वटा काउन्टरलाई एकीकृत गर्ने, नयाँ नागरिकता र प्रतिलिपि लिन हुने भीडभाड नियन्त्रण गर्न पूर्वाधार एवम् हेल्प डेस्क निर्माण गर्ने र स्थानीय भाषा बुझेर सेवा प्रवाह गर्ने काम भइरहेको छ । नागरिकले साधारण कामका लागि पनि कोठा–कोठा र झ्याल–झ्याल धाउनुपर्ने बाध्यता अन्त्य गर्दै छिट्टै सुधारको अनुभूति गराउने प्रतिबद्धता प्रजिअ अधिकारीले व्यक्त गरेका छन् ।

यसैगरी देशकै प्रमुख औद्योगिक करिडोर रहेको बारामा औद्योगिक सुरक्षा सुदृढ बनाउन चन्दा आतङ्क, अनावश्यक हस्तक्षेप र अवरोधहरू नियन्त्रण गरिने प्रजिअ अधिकारीको भनाइ छ । उनका अनुसार उद्योग र स्थानीय समुदायबीच देखिने विवादहरू संवादमार्फत समाधान गरी लगानीको वातावरण निर्माण गरिनेछ।

यसबाहेक स्थानीय तहसँग समन्वय गरी भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने, सरकारी जग्गाको संरक्षण गर्ने, विकास निर्माणका योजना कार्यान्वयनमा सहजीकरण गर्ने तथा राजश्व चुहावट रोक्न कडाइका साथ काम गर्ने योजना प्रशासनको रहेको छ। भौगोलिक दृष्टिकोणले ठूलो र चासोको केन्द्र रहेको बारामा काम गर्न पाउनुलाई एउटा महत्त्वपूर्ण अवसर र चुनौतीका रूपमा लिँदै आफू कार्यस्थलमा रहँदासम्म निष्ठाका साथ जिम्मेवारी पूरा गर्ने प्रजिअ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्