पाँच वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा नाबालक पक्राउ

सिमराः पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान बाराको पथलैयाबाट एक नाबालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाका १४ वर्षीय नाबालक रहेका छन् ।
पीडित बालिकाकी अभिभावकले प्रहरी समक्ष पुगेर घटनाबारे जानकारी गराएपछि नाबालक पक्राउ परेका हुन् । प्रहरी चौकी पथलैयाको प्रहरी टोली पुगेर नाबालकलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका नाबालकलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ । पक्राउ परेका नाबालकले आरोप स्वीकार समेत गरिसकेका छन् ।
पीडित नाबालिका र आरोपित नाबालकलाई स्वास्थ्य परीक्षण तथा ओसीएमसीका लागि प्रादेशिक अस्पताल कलैया पठाउन लागिएको छ । स्वास्थ्य परीक्षण रिपोर्टपछि थप कारवाही प्रक्रिया अघि बढ्ने प्रहरीको भनाइ छ ।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा एक नाबालक पक्राउ परेको पुष्टि गरेका छन् ।
यसअघि पाँच वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका-१९ इनर्वासिराबाट बिहीबार राति ७५ वर्षीया हसन जान मियाँलाई पक्राउ गरेको थियो । पक्राउ परेका मियाँलाई पनि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर कारवाही प्रक्रिया अघि बढाइएको छ ।







