रौतहटमा एकै दिन तीन घरमा चोरी, कटुवा पेस्तोल बरामद

रौतहटः रौतहटको गरुडा नगरपालिका ७ भिमडावरमा शुक्रबार बिहान तीनवटा घरमा चोरी भएको छ ।
भिमडावरका दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकाको आग्लो भाँचेर चोरहरू भित्र प्रवेश गरी रेडमी, ओपो र रियलमीका तीन थान मोबाइल चोरी गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सोही स्थानका मनोज साहको घरमा छतको ढोकाबाट छिरेर दराजमा राखिएको पर्सबाट करिब पाँच हजार रुपैयाँ र रामाज्ञा साहको घरको माथिल्लो ढोकाबाट प्रवेश गरी टिनको बाकसमा रहेको पर्सबाट आठ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर उज्जवल क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले अनुसन्धानको सिलसिलामा पीडित दयारामकै घरको बरण्डामा राखिएको खाटबाट लाइभ राउण्ड लोड गरिएको एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले बेवारिसे अवस्थामा हतियार फेला परेको पुष्टि गरेका छन् । चोरी तथा हतियारसम्बन्धी यस घटनामा हालसम्म कोही पक्राउ परेका छैनन् भने प्रहरीले यस विषयमा थप अनुसन्धान अगाडि बढाएको छ ।







