सिरहामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ट्रक चालक पक्राउ


eShilalekh

३ आश्विन २०८३, शनिबार १२:४१

सिरहा: सिरहामा ट्रकको ठक्करबाट शनिवार बिहान एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना साइकलयात्री घाइते भएका छन् । मृत्यु हुनेमा नरहा गाउँपालिका ३ का करिब ५० वर्षीय रामपृत मण्डल रहेका छन् ।

नरहा गाउँपालिका ३ रोजी मेडिकलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बिहान करिब ७ः३५ बजे गोलबजारबाट मिर्चैयातर्फ आउँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट मण्डलको घटनास्थलमै मृत्यु भएको हो भने सोही स्थानका करिब ४५ वर्षीय राजातुल अन्सारी घाइते भएका छन् । उनको दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ ।

दुर्घटनापछि ट्रक चालक धनुषाको मिथिला नगरपालिका ९ का करिब २५ वर्षीय कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जनाएको छ ।

ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्