सिमरामा चक्कुले घाटी रेटेर युवकको हत्या


eShilalekh

३ आश्विन २०८३, शनिबार १९:४९

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ नेपाल केबुल अगाडि शनिबार साँझ चक्कुले घाटी रेटेर एक युवकको हत्या गरिएको छ । मारिनेमा जीतपुरसिमरा–२ का करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन् ।

खड्कालाई सिमरास्थित सम्झना स्टाफ होटलभित्र खाजा खाँदै गरेको अवस्थामा चक्कुले घाटी रेटिएको हो । घटनामा गम्भीर घाइते खड्कालाई तत्कालै जीतपुरसिमरा नगर अस्पताल लगिएको थियो । नगर अस्पतालले उपचार हुन नसक्ने बताएपछि उनलाई वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो ।

बयोधा अस्पतालमा चिकित्सकले ईसिजि गर्नेवित्तिकै मृत घोषणा गरेका हुन् । मृतकको शव बयोधा अस्पतालमै छ । प्रहरीले शवको मुचुल्का उठाउन सुरु गरेको छ ।

खड्कामाथि चक्कु प्रहार गर्ने फरार भएका छन् । प्रारम्भिक जानकारी अनुसार खड्का होटलमा बसिरहेका बेला चार जना युवाहरु मदिरा सेवन गरेर आएका थिए । चार जनामध्ये कसले चक्कु चलाएको भन्ने नखुलेपनि स्थानीयनै भएको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट दुई युवा फरार भएका छन् भने दुई युवा एम्बुलेन्समै अस्पताल गएका थिए । उनीहरुलाई अस्पतालबाटै प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्