धनुषामा ठुलो परिमाणमा अवैध काठ बरामद

धनुषाः डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका–२ स्थित विश्वकर्मा चोक नजिकै रहेको कमला भेनियर उद्योगबाट ठुलो परिमाणमा अवैध काठ बरामद गरेको छ।
वन कार्यालयको टोलीले सोमबार साँझ छापा मारेर उद्योग परिसरबाट ७८ थान (६७५ क्युफिट) सिमल जातको काठ नियन्त्रणमा लिएको हो।
डिभिजनल वन अधिकृत विनोद सिंहका अनुसार बरामद काठको स्रोत तथा आयातसम्बन्धी आवश्यक कागजात उद्योग सञ्चालकले तत्काल देखाउन नसकेपछि काठ नियन्त्रणमा लिइएको हो।
बरामद काठको वैध स्रोत खुल्ने कागजात तथा अनुमति भए–नभएको विषयमा थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ।







