तीन नम्बरमा पुनःनिर्मित घरटहरा भत्काउन गएको वनको टोली फर्कियो


eShilalekh

१२ आश्विन २०८३, सोमबार १८:१२

सिमरा: पथलैया-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित तीन नम्बर नजिक पुनः निर्माण गरिएका घरटहरा भत्काउन सोमबार बिहान पुगेको डिभिजन वन कार्यालयको टोली खाली हात फर्किएको छ । सुरक्षाकर्मी, वनरक्षक र डोजरसहित पुगेको टोली जनप्रतिनिधि तथा स्थानीयको आग्रहपछि पछि हटेको हो ।

चाडपर्वको समयमा उठिबास लगाउन नहुने तर्क गर्दै स्थानीय र जनप्रतिनिधिहरूले पर्वपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल गरेर मात्रै आवश्यक निर्णय लिन आग्रह गरेका थिए । पुल नजिकका घरटहरा हटाउने वा राख्ने भन्ने विषयमा चाडपर्वपछि निष्कर्षमा पुग्नुपर्ने उनीहरूको भनाइ थियो ।

आग्रहपछि वन कार्यालयले तत्कालका लागि भत्काउने कार्य स्थगित गरेको छ । वन अधिकृत ललन राउत कुर्मीका अनुसार जनप्रतिनिधिको अनुरोधलाई मान्दै तत्काललाई रोकिए पनि स्थानीयले आफैं नहटाए पुनः पुगेर भत्काइनेछ । ‘”‘यो नकारात्मक सूचीमा परेको अतिक्रमित क्षेत्र हो। यहाँ घरटहरा बनाएर बस्न र व्यापार गर्न पाइँदैन । आज नभए भोलि हट्छ नै’ कुर्मीले भने ‘त्यसैले स्थानीय आफैंले समयमै खाली गर्नु उपयुक्त हुन्छ। हामीले त्यही समय दिएर फर्किएका हौं।’

यसअघि डिभिजन वन कार्यालय र डिभिजन सडक कार्यालयको संयुक्त टोलीले गत जेठ १ गते चार दशक पुरानो सो बस्तीका ७२ वटा घरटहरा डोजर लगाएर भत्काएको थियो । सडक र वनको जग्गा अतिक्रमण गरिएको भन्दै भत्काइए पनि स्थानीयले पुनः सोही स्थानमा घरटहरा निर्माण गर्न थालेका थिए ।

बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खडानन्द अधिकारीले जनप्रतिनिधिहरू आफैं उभिएर अनुरोध गरेकाले मुठभेडको स्थिति टार्न टोली फिर्ता बोलाइएको बताए । ‘घरटहरा नहटाउने भन्ने होइन, केही दिनका लागि समय मात्र दिइएको हो’ सिडिओ अधिकारीले स्पष्ट पारे ‘दिएको अवधिभित्र खाली नभए डोजर चलाएर हटाइनेछ, यसको अरू विकल्प छैन।’ पूर्ववत् रूपमा खाली गराइएको जग्गामा पुनः संरचना बनाउनु गलत भएको भन्दै उनले छलफल भन्दा पनि अतिक्रमित क्षेत्र खाली गरेर सहज वातावरण बनाउन आग्रह गरे ।

डिभिजन वन कार्यालयका प्रमुख सुजितकुमार झाले पनि केही दिनको समय दिएर टोली फर्किएको पुष्टि गर्दै तोकिएको समयमा नहटाए कडा कदम चालिने चेतावनी दिए ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले भने साना व्यवसायी र स्थानीयको जीविकोपार्जनमा असर पुग्ने गरी हटाउन नहुने तर्क गरे । जीतपुरसिमरा उपमहानगरपालिका-२१ का वडाध्यक्ष सुवास श्रेष्ठले चार दशकभन्दा लामो इतिहास बोकेको बस्ती भत्काउनु ज्यादती भएको टिप्पणी गरे। उनले भत्काउनुभन्दा पनि स्थानीयलाई जीवनयापन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यस्तै वडा नं. २२ का वडाध्यक्ष शेखरकाजी रुम्बाले बस्ती हटाउनुको साटो व्यवस्थित गर्न सरकारसँग आग्रह गरे ।

घरटहरा भत्काउन पुगेको टोलीलाई रोक्न उपमहानगरपालिका भित्रका वडाध्यक्षहरू हिराबहादुर गुरुङ, धनबहादुर श्रेष्ठ, भोजबहादुर खत्री, दीपेन्द्र चौधरी, श्यामबाबु खाँ, हेमनारायण चौधरी, हरिदेव खरेललगायतका जनप्रतिनिधिहरू पुगेका थिए।

घरटहरा भत्काउन भने वन अधिकृत कुर्मी र वन अधिकृत मधुकान्त सिंहसहितको वनरक्षक तथा कर्मचारी टोली खटिएको थियो । सुरक्षाका लागि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको नेतृत्वमा ७० भन्दा बढी नेपाल प्रहरी तैनाथ गरिएका थिए । जनप्रतिनिधि र स्थानीयले समय मागेपछि पथलैया पुगिसकेको सशस्त्र प्रहरीको टोलीलाई भने सिडिओ अधिकारीले बाटोबाटै फर्किन आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्