रौतहट: मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

रौतहट: रौतहटको गौर नगरपालिका-९ सिरसियामा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय नारायण बैठा रहेका छन् ।
गौरबाट हजमिनियातर्फ जाँदै गरेको बीआर २२ एच ६१५९ नम्बरको भारतीय मोटरसाइकलले सडकमा उभिरहेका बैठालाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेका बैठाको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्जस्थित सर्वोत्तम अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा राति करिब ९ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै मोटरसाइकल चालक फरार भए पनि प्रहरीले पर्साको वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका-२ हजमिनियामाका २२ वर्षीय अमित भगतका रूपमा उनको पहिचान गरी खोजी कार्य तीव्र बनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएको टोलीले थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।







