कांग्रेस बारा-४ को क्षेत्रीय सभापतिमा लोकेश सिंह चयन


eShilalekh

१४ आश्विन २०८३, बुधबार १४:४३

सिमराः नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा युवा नेता लोकेश सिंह सर्वसम्मत् चयन भएका छन् । जीतपुरमा जारी क्षेत्रीय अधिवेशनबाट सिंह क्षेत्रीय सभापतिमा सर्वसम्मत् चयन भएका हुन् ।

क्षेत्रीय सभापतिमा सिंह र बिजय यादव आकांक्षी थिए । लामो समयको रस्साकस्सीपछि सिंहको नाममा सहमति जुटाइएको हो । सिंहलाई क्षेत्रीय सभापति बनाउन कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर लागिपरेका थिए ।

केही महिनाअघि शेरबहादुर देउवा निकट निलम्बित सभापति राजेश राय यादवलाई छोडेर सिंह गगन थापा निकट मन्सुरको पक्षमा खुलेका थिए । उनी नेपाली कांग्रेस भित्र सम्भावना बोकेको युवा नेताको रुपमा परिचित छन् । सिंहलाई क्षेत्रीय सभापति बनाउन केन्द्रीय सभापति थापा पक्षधरका स्थानीय नेताकार्यकर्ता सकारात्मक देखिएका थिए ।

सिंह सभापति भएसँगै अर्का आकाक्षी गुप्तालाई भने क्षेत्र नं. ४(२) को सभापति चयन गरिएको छ । यसैगरी क्षेत्र नं. ४(१) को सभापतिमा छविलाल शर्मा चयन भएका छन् । जीतपुरसिमरा उपमहानगर समितिका निवर्तमान नगर सभापति शर्माले पुनः नगरमै आउने इच्छा राखेका थिए । तर अन्तिम समयमा क्षेत्र नं. ४(१) को सभापति बनाउने आश्वासन दिएर रमेश पण्डितलाई नगर सभापति बनाइएको थियो ।

संघ र प्रदेश निर्वाचन क्षेत्रको सभापतिको टुंगो लागेसँगै केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, क्षेत्रीय समितिको अन्य पद टुंगो लगाउन कार्यदल गठन गरिएको छ । कार्यदलमा क्षेत्रीय सभापति सिंह, क्षेत्र नं. ४(२) को सभापति गुप्ता, युवा नेतृ मेघा शाही, युवा नेता नवराज त्रिपाठी छन् । कार्यदलले गरेको निर्णयलाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्