सिरहामा टिपरको ठक्करबाट यात्रुवाहक ईभी गाडी दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

सिरहाः सिरहाको कर्जन्हा नगरपालिका-४ भुल्केमा शुक्रबार टिपरको ठक्करबाट यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा गोलबजार नगरपालिका-४ की करिब ४५ वर्षीया शोभा कुमारी यादव रहेकी छन्।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गइरहेको म.प्र.०१-००१ ज. ०१२४ नम्बरको ईभी गाडीलाई विपरीत दिशाबाट आइरहेको म.प्र.०३-००२ ख. ३९९६ नम्बरको टिपरले ठक्कर दिदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी शोभाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।
दुर्घटनामा परेर घाइते भएका अन्य पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते २२ वर्षीया प्रियंका यादवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ भने अर्की गम्भीर घाइते गोलबजार-६ की ४५ वर्षीया ललिता महतोलाई विराटनगर रिफर गरिएको छ ।
यसैगरी ईभी चालक धनगढीमाई-२ का ३५ वर्षीय मन्जुर खान तथा गोलबजार-४ का संगीता मण्डल र फुलकुमारी यादव मध्यम घाइते भएका छन् । उनीहरूको फूलकुमारी महतो मेमोरियल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार उनीहरू सबै जितिया पर्वका व्रतालु थिए र ‘नहाए खाए’ को दिन परेकाले कमला नदीमा स्नान गरेर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।







