धनुषाका एक सय ८६ परिवारलाई ९ वर्षपछि लालपुर्जा वितरण


eShilalekh

१६ आश्विन २०८३, शुक्रबार १७:२६

धनुषा: नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ३ र ४ का १८६ परिवारले अन्ततः जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

साविक बटेश्वर गाविस वडा नं. १ देखि ९ सम्म लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयले नापी कार्यालय धनुषाबाट औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व पाएका हुन्।

उक्त क्षेत्रमा २०७४ सालमै नापजाँचको काम सकिए पनि कानुनी र प्रशासनिक उल्झनका कारण लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन। वर्षौँदेखि रोकिएको प्रक्रियालाई नापी कार्यालयले हालै टुङ्गोमा पुर्‍याउँदै पुर्जा हस्तान्तरण गरेको हो।

लालपुर्जा हात परेकोमा खुसी व्यक्त गर्दै स्थानीयले अब जग्गाको कानुनी र आर्थिक बाटो खुलेको बताएका छन्। जग्गाको स्पष्ट स्वामित्व कायम भएसँगै अब बैंक तथा वित्तीय संस्थामा धितो राखेर व्यावसायिक ऋण लिन सहज हुनेछ भने सम्भावित भूमिसम्बन्धी विवादहरू समेत अन्त्य हुनेछन्। नापी कार्यालयका अनुसार यसअघि धनुषाका चार हजार पाँच सय ५४ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्