पर्साको ठोरीमा हात्ती आतङ्क: दुई जना घाइते, घर र बालीनालीमा क्षति

वीरगन्जः पर्साको ठोरी गाउँपालिका-४ मा पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको हात्तीले आतङ्क मच्चाएको छ।
कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार बिहिवार राति मात्रै दुई पटक गाउँ छिरेको सो हात्ती अत्यन्तै उग्र र आक्रामक अवस्थामा देखिएको छ।
रातिको समयमा हात्ती सिधै घरतर्फ आएपछि सुरक्षाका लागि भाग्ने क्रममा ठोरी-४ का ७२ वर्षीया पाँचमाया स्याङ्बो र उनकी नातिनी घाइते भएका छन्। हात्तीले पछ्याउँदै ल्याएपछि छिमेकीको घरमा पस्न खोज्दा हात्तीले सोही घरको पाली नै फाल्दा उनीहरू घाइते भएको अध्यक्ष पाख्रिनले जानकारी दिए।
आक्रामक बनेको हात्तीले स्थानीयको एउटा घर भत्काउनुका साथै भण्डारण गरेर राखिएको खाद्यान्न र खेती गरिएको उखुबालीमा समेत ठूलो क्षति पुर्याएको छ।







