नेपाल पुलिस क्लब जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा


eShilalekh

१८ आश्विन २०८३, आईतवार २२:२३

सिमरा: सिमरामा जारी जीतपुरसिमरा महिला फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आइतबार साँझ भएको दोस्रो क्वाटरफाइनल खेलमा फेयर फुटबल क्लब धरानलाई ७-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो ।

पुलिसको जितमा निर्मला विकले उत्कृष्ट प्रदर्शन गर्दै एक्लै चार गोल गरिन् । यस्तै मोनिशा राउत, सम्झना लावती र कप्तान अमृता जैसीले समान एक-एक गोल थपेका थिए । धरानका तर्फबाट भने यमकुमारी विकले एक गोल फर्काइन् ।

खेलमा चार गोल गरेकी पुलिसकी निर्मला ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । फेसन वर्ल्डले प्रायोजन गरेको उक्त पुरस्कार प्रतियोगिताका लन्ड्री पार्टनर युआर अटोमेटिक लन्ड्रीका सञ्चालक उमेश चौलागाईं र रिता कँडेलले विकलाई प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी क्लब र भारतको कुर्सेङ गर्ल्स फूटबल एकेडेमी दार्जिलिङबीच हुनेछ । सिमरा रंगशालामा हुने उक्त खेल हेर्नका लागि नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सिमरा रंगशाला आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्