मोटरसाइकल दुर्घटनामा परेका युवक पेस्तोलसहित पक्राउ

सर्लाही: सर्लाहीको कविलासी नगरपालिका-३, मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवक पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षीय तुलसी ठाकुर रहेका छन्।
प्रहरीका अनुसार सोमबार बिहान जनकपुरबाट मदनपुरतर्फ घर फर्किंदै गर्दा ठाकुर चढेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेर उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको छ। दुर्घटना लगत्तै उद्धार तथा छानबिनको क्रममा उनको साथबाट एक थान पेस्तोल फेला परेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







