सर्लाही दुर्घटना अपडेट: गम्भीर घाइते भएका रञ्जितको उपचारका क्रममा मृत्यु

सिमराः सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित पूर्व-पश्चिम राजमार्गमा ईभी गाडी र ट्रक एकापसमा ठोक्किँदा घाइते भएका बाराका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको सुवर्ण गाउँपालिका-४ हर्दियाका ३७ वर्षीय रञ्जित राम रहेका छन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका रामलाई थप उपचारका लागि वीरगञ्जस्थित एलएस न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
बाराको हर्दियाबाट यात्रु लिएर जनकपुरतर्फ जाँदै गरेको ईभी गाडी सर्लाहीको लालबन्दी क्षेत्रमा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनालगत्तै ईभी चालकसहित घाइते भएका १२ जनालाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल लगिएको थियो। प्राथमिक उपचारपछि गम्भीर अवस्थाका रामलाई थप उपचारका लागि वीरगञ्ज ल्याइएकोमा उनको मृत्यु भएको हो भने अन्य घाइतेहरूको उपचार जारी रहेको छ।







