सर्लाहीको हनुमान मन्दिरमा चोरी, दुई नाबालक पक्राउ


eShilalekh

८ कार्तिक २०८३, आईतवार १३:४८

सर्लाही: सर्लाहीको मलंगवा नगरपालिका-८ स्थित हनुमान मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मन्दिर परिसरबाटै चोरीमा संलग्न रहेको आरोपमा १६ र १३ वर्षका दुई नाबालकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार आइतबार बिहान करिब ३ बजे मन्दिरमा चोरी भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा मन्दिरमा रहेको हनुमानजीको मूर्तिमा लगाइएका चाँदीका मुकुट, माला, टीका, अनुहारका विभिन्न गरगहना र दानपेटिकामा रहेको रकम चोरी भएको खुलेको छ। यद्यपि, चोरी भएका सामान तथा नगदको यकिन विवरण भने आउन बाँकी छ।

पक्राउ परेका नाबालकहरूको नाम गोप्य राखिएको छ भने उनीहरू यसअघि पनि चोरीकै घटनामा संलग्न भई बाल सुधारगृहमा बसेर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यसैबीच घटनालाई लिएर प्रहरीले धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्याउने किसिमका गतिविधि नगर्न सबैमा आग्रह गरेको छ। यस्ता संवेदनशील घटनालाई जोडेर अफवाह फैलाउने वा सामाजिक सद्भावमा आँच पुग्ने गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्