बारामा बेवारिसे अवस्थामा भेटिएका वृद्धको उपचारका क्रममा मृत्यु, आफन्तको खोजीमा प्रहरी


eShilalekh

८ कार्तिक २०८३, आईतवार २०:१७

सिमराः बाराको कोल्हवी नगरपालिका-२ स्थित निकास टोलमा अचेत अवस्थामा फेला परेका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

आइतबार दिउँसो करिब ३:२५ बजे खेतको डिलमा नाम, थर र वतन नखुलेका करिब ६०-६२ वर्षका पुरुष व्यक्ति अचेत अवस्थामा रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली खटिएको थियो।

प्रहरीले उद्धार गरी उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारा पठाएकोमा उपचारकै क्रममा सोही दिन बेलुकी ५:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल मृतकको शव प्रादेशिक अस्पताल कलैयामै सुरक्षित राखिएको छ। मृतकसँग कुनै पहिचान खुल्ने कागजपत्र नभएकाले हालसम्म उनको सनाखत हुन सकेको छैन।

प्रहरीका अनुसार मृतक पुरुष कालो वर्णका, ५ फिट ६ इन्च उचाइ भएका र सेतो कपाल रहेका छन्। उनले घाटीमा सेतोमा हरियो धर्सा भएको गम्छा ओढेका, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका छन्। साथै उनको दाहिने हातको नाडीमा रातो धागो बाँधिएको र दाहिने हातकै साहिँली औँलामा औँठी रहेको हुलिया प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले उक्त हुलियाका आधारमा निज व्यक्तिलाई चिन्नुहुने वा उनका आफन्तजनलाई प्रहरीको सम्पर्क नम्बर १००, ९८५५०४५१०१ वा ९८५५०४८१०१ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्