बाराको सुवर्णमा चोरीका घटना बढ्दै, २० तोला सुनका गरगहना चोरी


eShilalekh

१० कार्तिक २०८३, मंगलवार १४:३०

सिमरा: बाराको सुवर्ण गाउँपालिका-१ स्थित चरमोहना गाउँमा चोरीका घटना दोहोरिन थालेपछि स्थानीयवासीको सुरक्षा चिन्ता बढेको छ। पछिल्लो घटनामा स्थानीय रामनरेश सिंहको घरबाट करिब २० तोला सुनका गरगहना चोरी भएको छ।

स्थानीय युवा इन्जिनियर सुनील कुमार यादवका अनुसार चरमोहना गाउँमा यसअघि पनि पटक-पटक चोरीका घटना हुँदै आएका छन्। केही समयअघि एकै दिन चरमोहना लगायत आसपासका गाउँका चारवटा घरमा चोरी भएको घटना सार्वजनिक भएको थियो। लगातार यस्ता घटना दोहोरिँदा स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न थालेका छन्।

इन्जिनियर यादवले गाउँमा चोरीका घटना रोक्न सीसीटीभी क्यामेरा जडान, सडक बत्तीको व्यवस्था तथा प्रहरी गस्ती नियमित र प्रभावकारी बनाउनुपर्ने माग गर्दै आएका छन्। तर पुनः ठूलो परिमाणमा सुनका गरगहना चोरी भएपछि गाउँको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ। स्थानीयवासीले सम्भावित चोरीका घटना रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने बताएका छन्।

यसैबीच जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने र चोरी भएका गरगहना बरामद गर्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार: बाराको सुवर्णमा एकै रात तीन घरका पर्खाल फोरेर लाखौँको चोरी

प्रतिक्रिया दिनुहोस्