चक्रवात ‘अर्नब’: कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

सिमराः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’अति शक्तिशाली बन्न सक्ने भन्दै देशभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको पोस्ट-मनसुनसम्बन्धी विशेष बुलेटिनअनुसार उक्त चक्रवात आगामी कात्तिक ११ गते भारतमा प्रवेश गर्ने सम्भावना छ भने त्यसको असर नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि नै देखिन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्नेछ। यी प्रदेशका धेरैजसो स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले आठबुँदे निर्देशनात्मक सुझाव जारी गरेको छ। जसअन्तर्गत किसानहरूलाई धानबाली काट्ने र भित्र्याउनेजस्ता कृषि काम कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न आग्रह गरिएको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि नगर्न र भ्रमणमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा रहन भनिएको छ।
मौसम प्रतिकूल भई सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न तथा आवश्यकताअनुसार सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। तीनवटै तहका सरकार, सुरक्षा निकाय र स्वयंसेवकहरूलाई जुनसुकै बेला प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले अनुरोध गरेको छ।








