पथलैयामा माछा बोक्ने गाडीबाट अवैध पटका बरामद, दुई पक्राउ

सिमरा: बारा प्रहरीले माछा बोक्ने गाडीबाट अवैध पटकासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजपुर कुडिया नगरपालिका-५ का २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका-७ का २६ वर्षीय राधाकृष्ण सहनी रहेका छन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित पथलैया चेकपोइन्टबाट प्रहरी टोलीले करिब ८० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका पटकासहित उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको नेतृत्वमा खटिएको प्रहरी चौकी पथलैयाको टोलीले सिम्रौनगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ७३१५ नम्बरको माछा लोड गरिएको पिकअपलाई जाँच गरेको थियो ।
सोही क्रममा गाडीभित्र लुकाइछिपाइ राखिएको ६४ डिब्बा अवैध पटका फेला परेको हो । बरामद गरिएका पटकाहरूमा पेटा स्काइ प्लस ३० डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा तथा फ्लावर गार्डेन र फ्लावर सो १/१ डिब्बा रहेका छन् ।
बरामद पटका र पिकअपसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







