सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक गम्भीर घाइते

सर्लाही: सर्लाहीको हरिपुर नगरपालिका-४ हरैयामा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेर मृत्यु हुनेमा स्थानीय ६८ वर्षीय युगेश्वर सिंह रहेका छन्।
मलङ्गवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलले पैदलयात्रु सिंहलाई ठक्कर दिएको थियो। पैदलयात्रुलाई ठक्कर दिएर अनियन्त्रित भएको सोही मोटरसाइकल पल्टँदा चन्द्रनगर गाउँपालिका-१ किसनपुरका २२ वर्षीय चालक पुरुषोत्तम राय यादव पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते यादवको हरिपुरस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ भने तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।







