फेटामा अस्पताल उद्घाटनको विवादमा प्रहरीको गोली लागेर बालक घाइते, स्थिति तनावपूर्ण


eShilalekh

१४ कार्तिक २०८३, शनिबार १३:२७

सिमराः बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैयाको अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् ।

अस्पतालको भवन निर्माण भए पनि विद्युत् र फर्निचरलगायतका आवश्यक पूर्वाधारहरूको काम पूरा नभएकाले अधुरो भवन उद्घाटन गर्न नहुने भन्दै स्थानीयवासीले बिहानैदेखि विरोध प्रदर्शन गरेका थिए । गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले स्थानीयको विरोधका बाबजुद पनि उद्घाटन गर्ने अडान लिएपछि दुवै पक्षबीच तनाव बढेको थियो ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गर्दा झडपको स्थिति सिर्जना भएको थियो । सोही दोहोरो झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर फेटा गाउँपालिका-३ का १४ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका छन् ।

घाइते पासवानको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनको शरीरबाट गोली निकालिएको छ । बालकलाई गोली लागेपछि थप आक्रोशित भएका स्थानीयवासीले नौ वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

घटनापछि अहिले फेटाको स्थिति तनावपूर्ण बनेको छ र स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्