क्यानडामा विभिन्न क्षेत्रका ११ जनालाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड २०२६’ प्रदान

मिसिसागा: क्यानडामा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड क्यानडा २०२६’ बाट सम्मानित गरिएको छ । सिजन मिडिया प्रालि नेपालद्वारा क्यानडाको मिसिसागामा आयोजित समारोहबीच विभिन्न क्षेत्रका ११ जनालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
पत्रकारिता, अध्यागमन कानुन, शिक्षा, उद्यमशीलता, वित्तीय व्यवस्थापन, रियल इस्टेट, संगीत, सञ्चार तथा सामुदायिक सेवा जस्ता विविध विधामा आवद्ध व्यक्तिलाई सम्मान गरिएको थियोे । सम्मानित हुनेहरूमा खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थी, अमेरिकी अध्यागमन कानुन व्यवसायी बासु फुलारा, अनोखी लाइफ तथा द ओपन चेस्ट कन्फिडेन्स एकेडेमीकी संस्थापक राज गिर्न र इन्डो–क्यानडा चेम्बर अफ कमर्सका उपाध्यक्ष आलोक नागपाल रहेका छन् ।

यसैगरी पिल रिजनल प्रहरी ब्राम्पटनकी सामुदायिक प्रतिनिधि गीता दवाडी ढकाल, क्यानडा नेपाल न्युज डटकमका प्रधान सम्पादक शिशिर सिम्खडा, वरिष्ठ संगीतकर्मी अमर शंकर सैंजु, एनआरएनए क्यानडाका सल्लाहकार चिरञ्जीवी घिमिरे, अध्यागमन कानुन व्यवसायी अतुल सुवेदी, मार्केटिङ प्राध्यापक डा. तुलसी धरेल र रियल इस्टेट व्यवसायी मदन क्षेत्रीलाई पनि अवार्ड प्रदान गरिएको छ । सोही समारोहमा ब्राम्पटन हेल्थकेयरमा कार्यरत बेन्जु श्रेष्ठलाई स्वास्थ्य सेवा क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरूको व्यावसायिक उपलब्धि र अनुभवको पहिचानका लागि कार्यक्रम आयोजना गरिएको बताएका छन् । सिजन मिडियाले लामो समयदेखि समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिको सम्मानमा कार्यक्रम गर्दै आएको छ ।





