भीमफेदी सुमो दुर्घटना: तीन जनाको मृत्यु, सात घाइते


eShilalekh

३ मंसिर २०८३, बिहीबार ११:२५

सिमराः मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसेमा बिहीबार बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका-४ का ५० वर्षीय बमबहादुर वाइबा, चन्द्रनिगाहपुर नगरपालिका-४ की २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र सोही ठाउँकी २५ वर्षीया अनुसा लामा रहेका छन् ।

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २०/२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका-३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर-४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर-३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर-४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन् ।

घाइतेहरूलाई स्थानीय बासिन्दा तथा प्रहरी चौकी भैँसेको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्