जनकपुरधाम-अयोध्या रेल सेवाको औपचारिक शुभारम्भ

जनकपुरधाम: नेपाल र भारतका दुई धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाम र अयोध्याबीच आजदेखि सीधा रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नेपालका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर उक्त साप्ताहिक रेल सेवाको शुभारम्भ गरेका हुन्।
राम-सीताको जन्मभूमिलाई रेलमार्गबाट जोड्ने यो ऐतिहासिक सेवाले दुई देशबीचको धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। उत्तर रेल्वेको लखनउ मण्डल रेल प्रबन्धक कार्यालयको संयोजनमा भारतको अयोध्या रेल्वे स्टेसनमा आयोजित विशेष समारोहका बीच नयाँ एक्सप्रेस रेललाई हरियो झन्डा देखाएर सेवा सुरु गरिएको हो।
भारतीय प्रेस इन्फर्मेसन ब्यूरो (पीआईबी) का अनुसार भारतीय रेल्वेको स्वीकृतिमा सञ्चालनमा आएको करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवाले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै दुई धार्मिक नगरीलाई जोडेको छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार प्रारम्भिक चरणमा यो रेल सातामा एकपटक सञ्चालन हुनेछ । निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ।
यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मंगलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ। यात्रुहरूको सुविधाका लागि जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी तोकिएका छन्।
हाल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको नियमित रेल सञ्जाललाई आधार बनाएर अयोध्यासम्मको यो नयाँ सेवा विस्तार गरिएको हो। रामायणसँग जोडिएका जनकपुरधाम र अयोध्याबीच सीधा रेल सम्पर्क स्थापित भएसँगै दुवै देशका धार्मिक पर्यटक तथा श्रद्धालुको आवागमन सहज हुनुका साथै रामायण सर्किटको अवधारणाले समेत थप गति लिने अपेक्षा गरिएको छ।






