दशौं राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशबाट २४ तेक्वान्दो खेलाडी छनौट

सिमरा: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट तेक्वान्दो विधामा कुल २४ जना खेलाडी छनौट भएका छन् । बाराको निजगढमा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट ग्योरुगीतर्फ १६ र पुम्सेतर्फ ८ जना खेलाडी छनौट भएका हुन् ।
प्रतियोगिताको ग्योरुगी पुरुष विधातर्फ ५४ केजी तौल समूहमा पर्साका आसिफ हुसेन अंसारी, ५८ केजीमा धनुषाका समिरकुमार पटेल, ६३ केजीमा बाराका सचिन लामा र ६८ केजीमा पर्साका मो. सोयब अख्तर छनौट भएका छन् । त्यसैगरी ७४ केजीमा पर्साका विक्रान्त डंगोल, ८० केजीमा पर्साका इमरान शेख, ८७ केजीमा पर्साका रहनकुमार पटेल र ८७ केजीभन्दा माथिको तौल समूहमा सिरहाका आदर्श तिमल्सिनाले स्थान सुरक्षित गरेका छन् ।
यसैगरी ग्योरुगी महिलातर्फ ४६ केजी तौल समूहमा सिरहाकी सलिना यादव, ४९ केजीमा रौतहटकी रेजिना खड्का, ५३ केजीमा सर्लाहीकी खुशी घलान र ५७ केजीमा धनुषाकी खुशी ठाकुर छनौट भएकी छन् । यस्तै ६२ केजीमा पर्साकी नाजिया हसन सिद्धिगी, ६७ केजीमा बाराकी नबिया भुजेल, ७३ केजीमा सिरहाकी आरती सिंह र ७३ केजीभन्दा माथिको तौल समूहमा सर्लाहीकी सलिना थापा छनौट हुन सफल भएकी छन् ।
पुम्से विधाको पुरुषतर्फ बाराका निश्चल धामी र अस्विन लामा, सिरहाका अमृत स्याङ्बो तामाङ तथा रौतहटका सुरेश रुम्बा छनौट भएका छन् । त्यस्तै पुम्से महिलातर्फ धनुषाकी एलेजा रोकाया, बाराकी छुछेन्वो दिम्डुङ्ग, सर्लाहीकी सोहानी रौनियार र सिरहाकी सोहना दनुवार छनौट भएका छन् ।
छनौट भएका खेलाडीले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदमा मधेस प्रदेशको प्रतिनिधित्व गर्दै तेक्वान्दो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।






