रौतहटमा मोटरसाइकल ठक्करपछिको विवादमा चक्कु प्रहार, एक युवक घाइते


eShilalekh

६ मंसिर २०८३, आईतवार २०:३०

सिमराः रौतहटको यमुनामाई गाउँपालिका-५ झुन्खुनवा चोकस्थित गौर-चपुर सडकखण्डमा मोटरसाइकलको ठक्करपछि भएको विवादमा चक्कु प्रहार हुँदा एक युवक घाइते भएका छन् ।

तरकारी किनेर घर फर्किरहेका राजपुर नगरपालिका-१ का करिब ३५ वर्षीय राजेशकुमार यादवलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएपछि भाग्न खोजेका चालकलाई रोक्ने प्रयास गर्दा यादवको पिठ्युँ, बायाँ हात र दुवै खुट्टामा धारिलो हतियार प्रहार भएको हो ।

आक्रमणपछि चालक मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका छन् भने घाइते यादवको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित मेडिकल कलेजमा रिफर गरिएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनापछि केही समय स्थानीयले सडक अवरुद्ध गरे पनि प्रहरीको पहलमा सडक पुनः सञ्चालनमा आएको छ । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्