मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटन, अमलेखगञ्जमा गरियो शिलालेख अनावरण


eShilalekh

७ मंसिर २०८३, सोमबार २०:२४

सिमरा: मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत निर्माण भएको दोस्रो चरणको परियोजनाको सोमबार उद्घाटन गरिएको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्तरूपमा परियोजनाको डिजिटल उद्घाटन गरेका हुन् ।

दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट परियोजनाको उद्घाटन गरेलगत्तै बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा पनि शिलालेख अनावरण गरिएको छ । नेपाल र भारतका सरकारी अधिकारीहरूको उपस्थितिमा शिलालेख अनावरण तथा हस्तान्तरण कार्यक्रम गरिएको हो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक पूर्णप्रसाद रिजाललगायतको उपस्थिति थियो । 

यसैगरी नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव श्रीनारायण सिंह, इन्डियन आयल कर्पोरेसन (आइओसी) पटनाका प्रमुख आलोककुमार रोय, अमित दास गुप्तालगायत भारतीय अधिकारीहरू कार्यक्रममा सहभागी थिए ।

२०७६ सालमै पहिलो चरणको काम सम्पन्न भई सञ्चालनमा आएको यस परियोजनामा थप दुई अर्ब ६४ करोड रुपैयाँको लगानीमा नयाँ पूर्वाधार थप गरिएको हो । दोस्रो चरणको निर्माणमा नेपाल आयल निगमले एक अर्ब ६४ करोड र भारतले एक अर्ब रुपैयाँ खर्च गरेको छ ।

यस चरणमा नेपालको तर्फबाट चार हजार एक सय किलोलिटर क्षमताको पेट्रोल ट्याङ्की, २४ ‘बे’ को ट्याङ्क–ट्रक लोडिङ ग्यान्ट्री, टर्मिनल अटोमेसन सिस्टम र गुणस्तर नियन्त्रण प्रयोगशाला निर्माण गरिएको छ । यसैगरी भारतको लगानीमा चार हजार एक सय किलोलिटर क्षमताको अर्को पेट्रोल ट्याङ्की, दुई सय ५० किलोलिटर क्षमताको ट्रान्समिक्स ट्याङ्की र आधुनिक अग्नि नियन्त्रण पूर्वाधार निर्माण भएको छ ।

दोस्रो चरणको परियोजना सम्पन्न भएसँगै अब पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेलसमेत भित्रिनेछ भने डिपोबाट दैनिक तीन सय ट्याङ्कर इन्धन लोड गर्न मिल्नेछ । परियोजना पूर्णरूपमा सञ्चालनमा आएपछि दैनिक दुई सय १३ वटा ट्याङ्करले ढुवानी गर्ने बराबरको इन्धन पाइपलाइनबाटै आउने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख अशोक साहले जानकारी दिए ।

यसअघि पहिलो चरणमा भारतको चार अर्ब रुपैयाँको लगानीमा ६९ किलोमिटर लामो मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माण गरिएको थियो । दक्षिण एसियाकै पहिलो क्रस–बोर्डर (अन्तरदेशीय) पेट्रोलियम पाइपलाइनको पहिलो चरणको उद्घाटन २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा गरेका थिए । पहिलो चरणमा पाइपलाइनबाट डिजेल मात्र आयात हुँदै आएको थियो

प्रतिक्रिया दिनुहोस्