सिमरा महिला साकोसद्वारा नवजात शिशुका लागि १०० थान बेबी ब्ल्याङ्केट हस्तान्तरण

सिमरा: सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जीतपुरसिमरा नगर अस्पतालमा जन्मिने नवजात शिशुहरूका लागि १०० थान बेबी ब्ल्याङ्केट प्रदान गरेको छ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त न्यानो सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो।
संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच जीतपुरसिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले अस्पताललाई ब्ल्याङ्केट हस्तान्तरण गरेका छन्।
नवजात शिशुलाई चिसोबाट जोगाउन आवश्यक न्यानो सामग्री उपलब्ध गराउनुका साथै महिला सशक्तीकरण र लैङ्गिक हिंसाविरुद्धको अभियानमा सामाजिक सहभागिता बढाउने उद्देश्यले यो सहयोग गरिएको संस्थाले जनाएको छ। संस्थाले उपलब्ध गराएका ती ब्ल्याङ्केटहरू नगर अस्पतालमा जन्मिने नवजात शिशुलाई वितरण गरिनेछ।
कार्यक्रममा अस्पतालका प्रतिनिधिहरूले सहकारीको यस सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले अस्पतालमा सेवा लिन आउने आमा तथा नवजात शिशुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका थिए।






