कलैयाको सुदामा स्विट्सलाई दुई लाख जरिवाना

सिमराः बाराको कलैया उपमहानगरपालिका–१ स्थित सुदामा स्विट्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनका क्रममा खान अयोग्य मिठाई उत्पादन गरिरहेको, अखाद्य वस्तु प्रयोग गरेको र सरसफाइमा ध्यान नदिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय बाराले उक्त पसललाई जरिवाना गरेको हो ।
सरकारी टोलीले शुक्रबार कलैया–१ मा संचालित दुई वटा मिठाई पसलका कारखानामा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा सुदामा स्विट्सलाई जरिवाना गरेको हो भने सिद्धार्थ स्विट्सलाई कागाजतसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय बारामा स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखामा कार्यरत नायब सुब्बा सुशीलप्रसाद यादवका अनुसार सुदामा स्विट्सलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) बमोजिम जरिवाना गरिएको हो । उक्त पसलका संचालकलाई सात दिनभित्र फर्मको कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
यसैगरी सिद्धार्थ स्विट्सलाई भने नापतौलका लागि प्रयोग हुने काँटाको अनुमति पत्र पेस गर्नुपर्ने देखिएकाले तीन दिनभित्र अनुमति पत्रसहित गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जमा उपस्थित हुन भनिएको छ ।
टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसिया, घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख जयकुमार राउत, गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका श्रीकान्त चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका श्रवणकुमार साह र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक राजेश सहनीलगायत थिए ।





