वीरगन्ज कपडा बैंकद्वारा बहुदरमाई मेलामा निःशुल्क कपडा वितरण

वीरगन्जः पर्साको बहुदरमाई नगरपालिका-२ ध्यानचन्द पिपरास्थित बहुदरमाई मेलामा वीरगन्ज कपडा बैंकले करिब एक हजार पाँच सय थान कपडा निःशुल्क वितरण गरेको छ।
कार्तिक पूर्णिमा स्नानको अवसरमा लागेको पाँचदिने मेलाको तेस्रो दिन मेलामा सहभागी हुन आएका श्रद्धालु तथा विपन्न वर्गलाई लक्षित गरी नयाँ तथा पुराना कपडा वितरण गरिएको हो।
मेलामा आउने सर्वसाधारणलाई सेवा पुर्याउने सामाजिक उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बैंकका सदस्य एवं युवा समाजसेवी नवराज भट्टराईले जानकारी दिए। बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षता र युवा समाजसेवी केदार गुप्ताको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले विगत सात वर्षदेखि संस्थाले विपन्न र असहाय परिवारलाई कपडा उपलब्ध गराउँदै आएको बताए। गत वर्षझैँ यस वर्ष पनि मेलामा सेवा गर्न पाउँदा खुसी लागेको बताउँदै उनले अभियानमा साथ दिने दाता, समाजसेवी र सञ्चारकर्मीप्रति आभार व्यक्त गरे।
कार्यक्रममा सहभागी अतिथि तथा समाजसेवीहरूले सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म बैंकले पुर्याउँदै आएको मानवीय सेवाको प्रशंसा गर्दै यस्ता अभियानमा सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।





