१५ दिनमा अन्तर्राष्ट्रिय विमानस्थलको टुंगो लाग्छ: मन्त्री आले


eShilalekh

४ फाल्गुन २०७८, बुधबार १६:४६

सिमरा: संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले १५ दिनभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा रहेको अन्यौलता अब हट्ने बताएका छन् ।

विमानस्थल निर्माण हुने क्षेत्रको निरिक्षणका लागि जम्बो टोलिसहित बारा आएका आलेले बुधवार संचारकर्मीसंग कुरा गर्दै अब १५ दिनमा टुंगो लाग्ने बताए । आयोजनाको गुरुयोजना तयार भईसकेको र दलका नेता, सरोकारवाला मन्त्री सबै तयार रहेकाले अब ढिलाई नहुने आलेको भनाई थियो ।

‘म दोस्रो पटक यहाँ आएको छु, तेस्रो पटक आउँदा टांगियाको बस्ती स्थानान्तरण गर्ने गरी आउछु । १५ दिन पर्खनुहोला’ आलेले भने ‘१५ दिनमा भएन भने मलाई भन्नुहोला, म जवाफ दिनेछु ।’

आलेले प्रधानमन्त्री, गठबन्धन दलका नेता, वन मन्त्री, अर्थमन्त्री, प्रदेशका मुख्यमन्त्री, प्रदेश वनमन्त्रीलगायत सबै सरोकारवाला निकाय सहमत देखिएको हुँदा अब विलम्ब नहुने बताएका छन् । अर्थमन्त्रीले बजेटको व्यवस्थाका लागि सुनिश्चितता गरिसकेकाले त्यसका लागि आफू पर्खिएर बसिरहेको उनको भनाई थियो ।

विमानस्थल बनाउनका लागि राज्यले लगानी गर्न नसके अन्तर्राष्ट्रिय स्तरको लगानीमा भएपनि काम अघि बढाउने आलेले बताएका छन् । उनले ‘विमानस्थल बनाउने मोडलका विषयमा छलफल गर्नेछु । लगानीको विषयमा पनि छलफल गरेर टुंग्याएर बारा आउनेछु’ आलेले भने । उनले टांगियाबासीलाई ढुक्क हुन आग्रह गरेका छन् ।

मन्त्री आलेसहितको जम्बो टोली मंगलवार बारा आएको थियो । टोलीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, संसदको अन्तर्राष्ट्रिय समितिी सभापति पार्वती निरौला, विकास समिति सभापति कल्याणी खड्का, वन मन्त्री रामसहाय यादव, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, मधेस प्रदेशका वनमन्त्री शत्रुघन महतोलगायत विभिन्न दलका नेता, सांसद, प्रदेश सांसद सहभागी थिए । टांगियाबस्ती निरिक्षणपश्चात टोलीले आयोजनाको कार्यालय र सरोकारवाला पक्षसंग मंगलवारसाझ अन्तक्र्रिया समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्