सर्लाहीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु


eShilalekh

११ आश्विन २०८३, आईतवार १९:३६

सर्लाही: सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं. ५, पडरियामा आइतबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पडरिया गाउँका नन्टुन पासवानका १३ वर्षीय छोरा आयुष पासवान रहेका छन्।

गाउँकै हिरेन्द्र राउतको खेतमा मोटरबाट पानी लगाउन राखिएको नाङ्गो तार छुँदा आयुषलाई करेन्ट लागेको प्रहरी चौकी पर्साका इन्चार्ज एवं सइ अजयकुमार रामले जानकारी दिएका छन्। स्थानीयहरू खेततर्फ डुल्न गएको बेला बालकलाई मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए।

घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी पर्सा र जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटिएको टोलीले घटनास्थल पुगी थप अनुसन्धान अगाडि बढाएको छ। साथै मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्