रौतहटमा अवैध काठ ओसारपसार, साइकल र आरासहित एक जना पक्राउ


eShilalekh

१२ आश्विन २०८३, सोमबार १२:०५

रौतहट: रौतहटको चन्द्रपुर नगरपालिका-७ स्थित रङ्गपुर साझेदारी वन क्षेत्रबाट अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।

चन्द्रपुर सब-डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वनबाट खटिएको संयुक्त गस्ती टोलीले आइतबार राति करिब ९ बजे नयाँबस्ती कटानी उत्तरको वन क्षेत्रबाट २४.७० क्युबिक फिट परिमाणको पाँच थान सालको गोलिया काठ, तीन वटा साइकल र एउटा आरासहित उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति चन्द्रपुर नगरपालिका-७ नयाँबस्ती कटानीका स्थानीय भए पनि हाल अनुसन्धानको प्रक्रिया जारी रहेकाले वन कार्यालयले उनको नाम भने सार्वजनिक गरेको छैन। नियन्त्रणमा लिइएका व्यक्ति, जफत गरिएको काठ तथा अन्य सामग्रीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको छ।

वन क्षेत्रमा हुने अवैध कटान तथा चोरी, तस्करी नियन्त्रण गर्न डिभिजन वन कार्यालय रौतहट, चन्द्रपुर सब-डिभिजन वन कार्यालय, रङ्गपुर साझेदारी वन र विभिन्न प्रहरी इकाईहरूको संयुक्त प्रयासमा रात्रिकालीन गस्ती तीव्र पारिएको छ र वन कार्यालयले आगामी दिनमा पनि यस्ता गस्ती तथा निगरानीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्