प्रजनन स्वास्थ्य शिविरमा महिलाको घुइँचो, एकै दिन सात सयको परिक्षण


eShilalekh

१८ फाल्गुन २०७८, बुधबार १८:२४

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका र साथी नेपालको आयोजनामा बुधवारदेखी सुरु भएको महिला प्रजनन सम्बन्धी स्वास्थ्य शिविरमा एकैदिन झण्डै सात सय महिलाले स्वास्थ्य परिक्षण गराएका छन् ।

डुमरवानास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा विशेषज्ञको टोलीसहित आयोजित चार दिने शिविरको पहिलो दिन सात सय महिलाको परिक्षण गरिएको हो । उपमहानगरपालिकाको वडा नं. ११ देखी वडा नं. २० सम्मका महिलालाई लक्षित गरी डुमरवानामा दुई दिने शिविरको आयोजना गरिएको हो ।

सामुदायिक सेवा प्रतिष्ठानसंगको सहकार्यमा आयोजित शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, पिसाव चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको उपचार, पाठेघरको एक्सरेलगायत महिला प्रजनन सम्बन्धी रोगको परिक्षणको गरिएको थियो । प्राविधिक टोलिसहितको शिविरमा अमेरिकाबाट आएका विशेषज्ञ चिकित्सक डा. शितेष कोईराला, स्त्री रोग विशेषज्ञ डा. रिति लामिछाने, रुपा कर्माचार्य, पुष्पा कर्माचार्यलगायत ११ जना रहेका छन् ।

टोलीले महिलामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या रहे नरहेको तत्काल जाँच गर्ने र समस्या देखिएका विरामीलाई निशुल्क शल्यक्रियाका लागि प्रक्रिया अगाडी बढाउने प्रतिष्ठानका सदस्य महादेव बानियाले जानकारी दिए । ‘जाँचका क्रममा शल्यक्रिया गर्नुपर्ने देखिएमा हामी प्रक्रिया अगाडी बढाउछौं, उहाँहरुको भरतपुर वा काठमाण्डौ लगेर निःशुल्क शल्यक्रिया समेत गर्छौ ।’

निःशुल्क शल्यक्रियाका लागि उपमहानगरपालिकाले सहजीकरण गरेकाले विरामीको सम्पूर्ण खर्च शिविरको आयोजकले व्यहोर्ने बानियाँले बताएका छन् । प्रजनन सम्बन्धी समस्या भएपनि जाँच गराउन नसकेका र जाँच गराएर पनि उपचार गराउन नसकेका विरामीलाई शिविरले राहत दिने बानियाँको भनाई थियो । शिविरको पहिलो दिन पाठेघरमा समस्या भएका १६ जना महिलाको शल्यक्रिया गर्नुपर्ने देखिएको बानियाँले बताए ।

शिविरमा जाँच गराउन आउने महिलाका लागि आयोजकले निःशुल्क यातायातको व्यवस्था समेत गरेको थियो । यातायात सुविधासहित निःशुल्क उपचार गरिने शिविरमा जाँच गराउन उलेख्य मात्रामा महिलाको उपस्थिती रहेको थियो ।

साथी नेपालसंगको सहकार्यमा उपमहानगरपालिकाले आयोजना गरेको शिविर डुमरवानापछि जीतपुर पुग्नेछ । डुमरवानामा दुई दिनको शिविर सकेर प्राविधिक टोली जीतपुरस्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय पुग्नेछन् । जीतपुरमा फाल्गुन २० र २१ गते शिविर संचालन हुनेछ । उक्त शिविरमा अन्य वडाका महिलाहरुको स्वास्थ्य परिक्षण हुनेछ ।


यसअघि शिविरको उद्घाटन उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेल र उपप्रमुख सरस्वती चौधरीले गरेका थिए । उदघटन कार्यक्रममा वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने, स्वास्थ्य शाखा प्रमुख रवि भाष्कर, डा. दीपक गिरी, स्वास्थ्य शाखाका कर्मचारी जितन ठाकुर, साथी नेपालकी सरिता सापकोटालगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्