सिरहामा ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

सिरहा: प्रहरीले सिरहाको भगवानपुर गाउँपालिकाबाट ८३ किलोभन्दा बढी लागूऔषध गाँजासहित एक जनालाईपक्राउ गरेको छ। पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका कल्याणपुर टोलका ५५ वर्षीय देवशरण यादव रहेका छन्।
भगवानपुर गाउँपालिका–४ स्थित बलान खोलामा सोमवार बिहान केही व्यक्ति टाउकोमा पोका बोकेर आउँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीलाई देख्नासाथ बोकेको पोका फालेर भाग्ने क्रममा यादव पक्राउ परेका हुन् भने घटनास्थलबाट कपडा र प्लास्टिकले बेरिएका पाँच वटा बोरामा रहेको कुल ८३ किलो ५६० ग्राम गाँजा बरामद गरिएको छ।
घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी तीव्र पारिनुका साथै पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।





