प्रदेश स्तरीय तेक्वान्दो खेलाडी छनौट पथलैयामा सुरु


eShilalekh

३० फाल्गुन २०७८, सोमबार २१:०१

पथलैया: १४औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी गराउनका लागि नेपाल तेक्वान्दो संघले मधेस प्रदेशमा खेलाडी छनौट सुरु गरेको छ । पथलैयास्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालयको कभड हलमा प्रदेश स्तरीय छनौट खेल सुरु भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा सुरु भएको छनौट खेलमा मधेस प्रदेशका आठ जिल्लाका खेलाडीको सहभागिता रहेको छ । प्रदेशबाट विभिन्न तौल समुहमा छानिएका खेलाडी राष्ट्रिय छनौटमा सहभागी हुन पाउने छन् ।

यसअघि छनौट प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालयका प्रमुख बरिष्ठ सशस्त्र प्रहरी उपरिक्षक लक्ष्मणबहादुर सिंहले गरेका थिए । उद्घाटन समारोहमा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नान्तिराज गुरु», ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरिक्षक मनोजित कुवँर, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, राजश्व चुहावट नियन्त्रण शाखाका सशस्त्र प्रहरी निरिक्षक सुभाष भट्टराई, होली गार्डेन ईङलिस स्कुलका प्रिन्सिपल भुवन राईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रदेशको आठ जिल्लाको तेक्वान्दो संघका अध्यक्ष, प्रशिक्षक, निर्णायकलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संघले तेक्वान्दोको विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो । पथलैयामा तेक्वान्दो खेल स्थापनाका क्रममा अहम भूमिका निर्वाह गरेको भन्दै संघले स्वर्गिय चन्द्रबहादुर थापालाई मरणोपरान्त सम्मान प्रदान गरेको हो । यसैगरी कार्यक्रममा तेक्वान्दो प्रशिक्षक प्रमोद मानन्धर, प्रेमकुमार दर्नाललगायतलाई सम्मान गरिएको थियो ।

तेक्वान्दो संघ मधेस प्रदेशका अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको संचालन भुवन थापाले गरेका थिए । कार्यक्रममा संघका प्रदेश महासचिव राजकुमार लामाले स्वागत मन्तब्य राखेका थिए । छनौट खेल मंगलवार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्