लोटस एकेडेमीले उचाल्यो ‘आठौं लोटस अन्तरविद्यालय फूटबल प्रतियोगिता’ को उपाधि

सिमराः आयोजक लोटस एकेडेमीले आठौं लोटस अन्तरविद्यालय फूटबल प्रतियोगिताको उपाधि उचालेको छ । होली गार्डेन इङ्लिस स्कुललाई फाइनलमा १–० ले पराजित गर्दै लोटसले उपाधि उचालेको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लोटस एकेडेमीका समर थापा घोषित भएका छन् । यसैगरी सर्वाधिक गोलकर्ता होली गार्डेन स्कुलका नमन गुरुङ, उत्कृष्ट गोलरक्षक लोटसका सिद्धार्थ मिश्र, प्लेयर अफ दि म्याच लोटसका गौरव थापा घोषित भए ।
उपाधि विजेता र उपविजेता विद्यालयका खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखाका अधिकृत हरिशप्रसाद भट्ट, लोटस एकेडेमीका प्रिन्सिपल रामप्रसाद अधिकारीले पुरस्कार वितरण गरेका थिए ।
माघ ६ गतेदेखि सुरु भएको प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा फाइनल खेलेका दुई टिमसहित सिमरा पब्लिक, अक्षरा पाठशाला, एक्स सर्भीसम्यान, पाथिभरा एकेडेमी, साना किसान शिक्षा सदन, राष्ट्रिय विभूति, एकता स्कुल, सेन्ट अल्फोन्सासले सहभागिता जनाएका थिए ।
