डुमरवाना क्रिकेट च्याम्पियनसिप माघ २६ गतेदेखि, विजेताले एक लाख पाउने


eShilalekh

११ माघ २०८१, शुक्रबार २१:५३

सिमराः डुमरवाना क्रिकेट च्याम्पियनसिपको पाचौं संस्करण माघ अन्तिम सातादेखि सुरु हुने भएको छ । प्रगतिशील युथ क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।

फाल्गुन ४ गतेसम्म आयोजना हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा कलैया, पर्सा, रौतहट, मकवानपुर, चितवन र आयोजकको टिमले सहभागिता जनाउनेछन् ।

अनुमानित १० लाख बजेट रहेको प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन । प्रतियोगिताको प्लेयर अफ दि सिरिजले सुरक्षा मोबाइलको तर्फबाट एक थान मोबाइल प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर, प्लेयर अफ दि म्याचलाई समेत नगदले पुरस्कृत गरिने आयोजक क्लबका सचिव बासु नेपालले जानकारी दिएका छन् ।
प्रतियोगिता अवधीभर खेल हेर्न आउने एक जना महिला दर्शकलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की अध्यक्ष चयन गुरुङले फ्यान अफ दि म्याचस्वरुप पछ्यौरा प्रदान गर्ने घोषणा गरेकी छिन् भने आयोजक क्लबलाई साकुरा कोरियन भाषा केन्द्रले जर्सी उपलब्ध गराउने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका र वडा नं. १५ को कार्यालयले प्रतियोगिता आयोजनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजक क्लबका अध्यक्ष प्रदीप पोखरेलले जानकारी दिए । स्थानीय सरकारबाट प्राप्त हुने सहयोगले अपुग हुने हुँदा विभिन्न क्षेत्रबाट सहयोग जुटाएर प्रतियोगिता आयोजना गरिने पोखरेलको भनाई थियो ।

प्रतियोगितालाई मधेस प्रदेश क्रिकेट संघ, बारा जिल्ला क्रिकेट संघ, सिमरा क्रिकेट क्लब प्राविधिक सहयोग गर्नेछन् ।
क्लबका अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, निवर्तमान वडासदस्य राजेन्द्र भट्टराई, स्थानीय समाजसेवी राजकुमार अर्याल, हरिकृष्ण श्रेष्ठ, क्लबका निवर्तमान अध्यक्ष कृष्णप्रसाद नेपाल, क्रिकेट प्राविधिक पंकज शर्मा, सुरज लामालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्